नेपाल एअरलाइन्सका तीन चार्टर्ड विमान जापान उड्दै
काठमाडौं। नेपाल एअरलाइन्सको विमान एकै साता तीन पटक जापानको नारिता जाने भएको छ।
नेपालमा रहेका जापानी नागरिक र जापानमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी लिएर नेपाल एअरलाइन्सको विमान जापानको नारिता जान लागेको हो।
२, ४ र ९ जेठमा चार्टर्ड विमान जापान जान लागेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले बताइन्।
सुमेघ टुर्स एण्ड ट्राभल्स प्रालिले नेपाल एअरलाइन्सको विमान चार्टर्ड गरेको हो। २ र ४ जेठको उडानको लागि टिकट बुक भइसकेको सुमेघ टुर्स एण्ड ट्राभलले बताएको छ।
जापानको लागि पहिलो चार्टर्ड फ्लाइट भोलि, २ जेठ साँझ ९ बजेको लागि तय भएको छ। उक्त उडानमा २५० जना यात्रुले टिकट काटेका छन्।
बिदामा नेपाल आएका जापानमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको भिषा अवधि सकिन लागेपछि उनीहरू जापान फर्किन लागेका हुन्।
सुमेघ टुर्स एण्ड ट्राभल्सले विजनेश क्लासको लागि १८ सय अमेरिकी डलर र इकोनोमिक क्लासको लागि १२ सय अमेरिकी डलर लिएर टिकट काटिरहेको बताएको छ।
दुई उडानको लागि टिकट बुक भइसकेको र ९ जेठमा हुने उडानको लागि भने टिकट उपलब्ध गराइएको ट्राभल्सले जनाएको छ।
नेपाल एअरलाइन्सले गत १९ फागुनबाट जापानको नारितामा नियमित व्यवसायीक उडान शुरू गरेको थियो।
त्यसबेला नेपाल एअरलाइन्सले प्रबद्र्धनात्मक भाडा भनेर एकतर्फी ३७ हजार र दुईतर्फी ७३ हजार रूपैयाँ निर्धारण गरेको थियो।
अहिले सुमेघ टुर्स एण्ड ट्राभल्सले चार्टर्ड फ्लाइटमा इकोनोमिक क्लासको लागि मात्रै १ लाख ४४ हजार रूपैयाँ भाडा तोकेको छ।
यसैगरी, नेपाल एअरलाइन्सको वाइडबडी विमान यसै साता चीन जाने भएको छ।
नेपाली सेनाले खरिदको जिम्मा पाएको स्वास्थ्य सामग्री लिनको लागि नेपाल एअरलाइन्सको विमान चीन जान लागेको हो।
प्रतिक्रिया दिनुहोस्