टिचिङमा कोरोना संक्रमित बालिका: अत्यावश्यकबाहेकका सर्जरी नगर्न चिकित्सकलाई अस्पतालको आग्रह

काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल प्रशासनले हाललाई अत्यावश्यकबाहेकका सर्जरी नगर्न आफ्ना चिकित्सकहरूलाई आग्रह गरेको छ। घाँटीमा समस्या देखिएपछि उपचारका लागि आएकी ६ वर्षीया बालिकामा कोभिड-१९ को संक्रमण देखिएपछि अस्पतालले सबै चिकित्सकहरूलाई 'इलेक्टिभ सर्जरी' नगर्न र 'इमर्जेन्सी सर्जरी' गर्दा पनि अनिवार्य रूपमा पीपीई प्रयोग गर्न भनेको हो।

कपिलवस्तुबाट उपचारका लागि आएकी ती बालिकामा कोरोना संक्रमण देखिएपछि अहिले उनलाई गणेशमान भवनमा सारेर आइसोलेसन वार्डमा राखि उपचार शुरू गरिएको छ। स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको समन्वयमा बिरामीसँग सम्पर्कमा आएका व्यक्तिहरू (प्राइमरी कन्ट्याक) को पीसीआर विधिबाट उनीहरूमा संक्रमण भए/नभएको परीक्षण गर्न गइरहेको अस्पतालले जनाएको छ।

ती व्यक्तिहरूलाई १४ दिनसम्म क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा राख्नुपर्ने हुन्छ। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा ती बिरामी बालिकाको सम्पर्कमा नपुगेका बाँकी स्वास्थ्यकर्मीलाई आफ्नो नियमित काम गर्न भनिएको छ।

ती बालिकाको प्रत्यक्ष सम्पर्कमा पुगेका व्यक्तिमा पनि कोरोना संक्रमण भएको पाइएपछि ती व्यक्तिको सम्पर्कमा पुगेका थप व्यक्तिहरू (सेकेन्डरी कन्ट्याक) को कन्ट्याक ट्रेसिङ गरी उनीहरूमा पनि कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने अस्पतालले जनाएको छ।

ती बालिका ३० वैशाखदेखि शिक्षण अस्पतालको न्युरो सर्जरी वार्ड बेड नं. ५० मा उपचाररत थिइन्।

प्रतिक्रिया दिनुहोस्