कपिलवस्तुकी ६ वर्षीया बालिका : श्वास फेर्न नसकेर अप्रेसन गर्न काठमाडौं ल्याइयो, उनैलाई समात्यो कोरोनाले

काठमाडौं। कपिलवस्तुको वाणगंगा नगरपालिका-४ की ६ वर्षीया बालिका १५ चैतबाट एक्कासी बोल्न नसक्ने भइन्। उनको श्‍वासनलीको समस्या बल्झिएपछि बोल्न असहज भएको थियो। श्‍वासनलीकै समस्याका कारण महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा तीनचोटी अपरेसन भइसकेको थियो।

लकडाउनकै समयमा एक्कासी समस्या देखिएपछि परिवार चिन्तित भए। एक साता अघिदेखि भने उनी सास फेर्नै नसक्ने भएपछि पुनः अपरेसन गर्न परिवारका सदस्यले काठमाडौं ल्याए।

“बोल्न नसक्ने भएको धेरै दिन भइसकेको थियो। केही निको हुन्छ की भनेर हेर्‍यौं,” बालिकाका हजुरबुवाले भने, “एक हप्ताजति भयो होला सास नै फेर्न धेरै गाह्रो हुन थालेपछि मैले अस्पताल ल्याएको हुँ।”

काठमाडौं आउन उनले वाणगंगा नगरपालिका-४ बाट सिफारिसपत्र बनाएका थिए। “बालिकालाई पहिलेदेखि नै समस्या थियो। एक्कासी गाह्रो भएपछि काठमाडौं लैजानुपर्ने भयो भन्दै सिफारिस बनाउन आउनुभएको थियो,” वडाध्यक्ष गणेशबहादुर खत्रीले भने, “मैले सिफारिस बनाइदिएर एम्बुलेन्समा जानुस् भनेर पठाएको थिएँ।”

२९ वैशाखमा आफू र नातिनी दूध बोक्ने टंयाकरमा काठमाडौं आएको उनले टेलिफोनमा देखापढीलाई बताए। “तत्काल अरू व्यवस्था थिएन । कलंकीसम्म त्यही दूध बोक्ने टंयाकरमा आइयो। कलंकीदेखि अर्को गाडीमा सहयोग मागेर अस्पताल पुगें,” उनले भने, “हामी लकडाउन भएदेखि घरबाट कतै निस्केका पनि छैनौं। न त उता हुँदा नै कहीं अस्पताल र मेडिकल नै गएका छौं।”

उनले नातिनीलाई कसरी कोरोना संक्रमण देखियो भन्दा अचम्म लागेको बताए। बालिकाका बुवा कामका लागि भारतमा छन्। घरमा हजुरबुवा, हजुरआमा र आमा मात्रै बस्छन्।

बालिकामा कोभिड १९ को कुनै लक्षणसमेत देखिएको छैन। वाणगंगा नगरपालिका ४ का वडाध्यक्ष गणेशबहादुर खत्रीले पनि अहिलेसम्म नगर क्षेत्रमा कुनै पनि व्यक्ति संक्रमित नभएको भन्दै बालिकामा कसरी संक्रमण देखिएको जानकारी हुन नसकेको बताए।

चिकित्सकहरूले हिजोका लागि अपरेसनको समय तोकेका थिए। परीक्षण रिपोर्ट नआएकाले हिजो अपरेसन गरिएन।

“आज बिहान ९ बजे अपरेसन हुने भन्दै बालिकालाई केही नखुवाउन भनिएको थियो,” हजुरबुवाले भने, “एक्कासी बिहान कोरोना देखियो भनेपछि अहिले भर्ना गरिएको ठाउँबाट बाहिर निकालेर अन्यत्रै राखिएको छ।” बालिकालाई अहिले टिचिङकै नाक, कान र घाँटीको उपचार गर्ने कक्षमा कोरोनाका बिरामी उपचार गर्न बनाइएको ठाउँमा राखिएको छ।

३० गते बालिकालाई अस्पताल भर्ना गरिएको थियो। उनमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालको न्यूरो बार्ड सिल गरिसकिएको छ।

यो पनि पढ्नुहोस्

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण, न्यूरो वार्ड सिल गरियो

संक्रमित बालिकाको उपचारमा संलग्‍न चिकित्सक र नर्ससमेत ३८ जना क्‍वारेन्टाइनमा

प्रतिक्रिया दिनुहोस्