भक्तपुरमा घरबाहिर निस्कन नपाइने

भक्तपुर। सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड-१९ संक्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।

प्रजिअ पाण्डेले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको जानकारी दिँदै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने गरी कडाइ गरेको जानकारी दिइन्।

उनले भक्तपुरबाट अन्यत्र जान यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको पनि बताइन्।

अत्यावश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ। भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति तथा सवारीसाधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन एवं नियमन गर्ने, विपन्न एवं गरीबसहित खाद्यान्न अभाव भएकालाई राहत उपलब्ध गराउने निर्णय गरिएकाे छ।

संक्रमित व्यक्तिको तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, उनीहरू बस्ने ठाउँ सिल गर्ने, उनीहरूका परिवारका सदस्यको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसनमा राखेर उपचार गर्ने निर्णयसमेत भएकाे प्रजिअ पाण्डेकाे भनाइ छ।

त्यस्तै जिल्लाका सबै नगरपालिकाले क्वारेन्टाइन चुस्त दुरुस्त राख्ने, वडामार्फत् आफ्नो क्षेत्रमा बाहिरबाट आएकाको लगत सङ्कलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिलाई आवश्यकताअनुसार क्वारेन्टाइनमा पठाउने र यसको समन्वय गर्ने निर्णय पनि भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्