शाैचालय जाने बहानामा क्वारेन्टाइनबाट भागे आठजना भारतीय

बर्दिया। गुलरिया नगरपालिका-१०, प्रयागपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका आठजना भारतीय नागरिक शौचालय जाने बहानामा आज भागेका छन्।

वडाध्यक्ष वीरेन्द्र चौधरीका अनुसार उनीहरू बिहान करीब ३ बजे भागेर प्रहरीलाई छली भारत बहराइच जिल्लाको चित्तलहवा पुगेका छन्।

उनीहरू भारतीय डीएमले अनुमति नदिँदा लामो समयदेखि नेपालको क्वारेन्टाइनमा बस्दै आएका थिए। सीमावर्ती क्षेत्रमा रहेको क्वारेन्टाइनबाट भारतको चित्तलहवा करीब डेढ किलाेमिटर दूरीमा छ।

उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरी भारतीय सुरक्षाकर्मी र चित्तलहवा गाउँका प्रधानलाई जिम्मा लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

बर्दियाका विभिन्न क्वारेन्टाइनमा २३ भारतीय रहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्