धाैलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव

बागलुङ। धाैलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ।

औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ। अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन्।

“डायलासिसमा नभई नहुने हेपारिन इन्जेक्सनको अभाव छ”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, “पोखरा, काठमाडौं बुझ्दा पनि अभाव रहेको पाइयो।”

उनले प्रदेश र संघका सम्बन्धित निकायमा औषधि व्यवस्थाका लागि माग गरिएको बताए। बजारमा पनि औषधिको खोजी भइरहेको छ।

प्रमुख चिकित्सक पोखरेलका अनुसार उक्त औषधि भारतबाट आपूर्ति हुन्छ। “हामी केही दिनदेखि नै औषधि ल्याउन लागिपरेका छौँ, तुरुन्त औषधि नपाइए डायलासिस रोकिने अवस्था छ”, उनले भने। जिल्लामा धवलागिरि अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध छ।

यसअघि दैनिक छ–सात बिरामीको मात्र डायलासिस गर्न सकिनेमा हालै क्षमता बढाएर १८–१९ पुर्‍याइएको छ। दुई चरणमा गरी डायलासिस सेवा दिने गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले दुई वर्षअघि मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलासिस सेवा शुरू गरेको थियो। कोरोनाले सिर्जित सङ्कट र लकडाउनका कारण भारतबाट आउने औषधिको आपूर्ति असहज भएको बताइएकाे छ। रासस

प्रतिक्रिया दिनुहोस्