कन्ट्याक्ट ट्रेसिङका लागि कञ्चनपुरको वेदकोटमा स्वास्थ्यकर्मी खटाइयो

काठमाडौं। महेन्द्रनगरबाट तीन दिनअघि काठमाडौं पुगेकी महिलाको सम्पर्कमा रहेका अन्य व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्य टोली खटिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्‍चनपुरको टोली वेदकोट नगरपालिकास्थित उनको घरमा खटाइएको सुदूरपश्‍चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

उनको सम्पर्कमा आएका व्यक्तिको खोजीका लागि स्वास्थ्य कार्यालयको टोली वेदकोट पठाइएको उनले बताए। संक्रमित महिलाले वेदकोट नगरपालिकाका धेरै ठाउँको ठेगाना दिएकाले टोली पठाउन समस्या भएको उनको भनाइ छ। उनी बसेको यकिन ठेगाना पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम गरिने उनको भनाइ छ।

संक्रमित महिला २९ वैशाखमा महेन्द्रनगरबाट सरकारी पाससहितको निजी गाडी चढेर काठमाडौं गएकी थिइन्। वेदकोट नगर प्रमुख अशोक चन्दले सबै क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताए।

संक्रमित महिलाको घर भएको क्षेत्र र अन्य ठाउँमा पनि मानिसहरूलाई सचेत रहन आग्रह गरिएको उनले बताए। ती महिलाको सम्पर्कमा रहेका सबैलाई तत्काल स्वास्थ्य परीक्षणका लागि नगरपालिकाले आह्वान गरेको छ।

उनको काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पनि घर भएको त्यहाँका मेयर घनश्याम गिरीले जानकारी दिए। उनी अहिले टेकू अस्पतालको आइसोलेसन वार्डमा छिन्।

मेयर गिरीका अनुसार महेन्द्रनगरबाट आएर उनी सीधै परीक्षणका लागि टेकु गएकी थिइन्। दोस्रो दिन रिपोर्ट पोजिटिभ आएपछि उनलाई आइसोलेसनमा राखिएको हो। उनको परिवारका सबै सदस्य होम क्‍वारेन्टाइनमा बसिरहेको मेयर गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्