कोभिड-१९: वुहानका एक करोड १० लाख मानिसमा पुनः परीक्षण गरिँदै

बेइजिङ। कोरोना भाइरसको उद्‍गमस्थल चीनको वुहान शहरको एक करोड १० लाख जनसंख्यामा फेरि परीक्षण थालिएको छ।

१० दिनभित्र सबै जनसंख्याको परीक्षण सक्ने योजना नगरका अधिकारीहरूले अगाडि सारेका छन्। सातादिनभित्र नयाँ ६ बिरामी भेटिएपछि व्यापक परीक्षण थालिएको हो।

११ साताको लकडाउनपछि वुहानलाई ८ अप्रिलमा खुला गरिएको थियो। व्यापार, व्यवसाय विस्तारै उठ्ने क्रममा थिए। सार्वजनिक यातायात सञ्‍चालनमा आएका थिए।

तर, पुनः कोभिड-१९ का बिरामी भेटिएपछि वुहानका बासिन्दामा त्रास फैलिएको छ। र, जनजीवन सामान्य बनाउन चुनौती थपिएको छ।

हिजोदेखि वुहानका सबै जिल्लालाई परिपत्र पठाउँदै १० दिनभित्र परीक्षण सक्न भनिएको छ। यसलाई सरकारले ‘१० दिने संघर्ष’ नाम दिएको छ।

यस अभियानमा ज्येष्‍ठ नागरिक र जनघनत्व बढी रहेका क्षेत्रको सुरक्षा मुख्य प्राथमिकतामा राखिएको अधिकारीहरूले जनाएका छन्।

केही स्वास्थ्य अधिकारीले भने पूरै शहरमा परीक्षण अभियान चलाउनु महँगो र असम्भव भएको बताएका छन्। चोङ्नान अस्पतालको इन्टेन्सिभ केयर युनिटका निर्देशक पेङ चियोङले जोखिम वर्गलाई लक्षित गरेर अभियान शुरु गरिएको बताए।

वुहान विश्वविद्यालयका एक निर्देशकले १० दिनमा ६० देखि ८० लाख जनसंख्याको परीक्षण गर्न सक्ने क्षमता शहरमा रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्