निकाे भएर घर फर्किए रुपन्देहीका एक कोरोना संक्रमित

बुटवल। रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति आज घर फर्केका छन्।

जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन्।

उनको तेस्रोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।

कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्पतालमा १९ वैशाखमा भर्ना गरेर उपचार गरिएको थियो।

“लगातार दुईपटकसम्म कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरेका हौंं”, मेसु डा. खनालले भने, “रिपोर्ट नेगेटिभ देखिए पनि तत्काललाई १२ दिन घरमै क्वारेन्टाइन बस्न सल्लाह दिएर पठाएका छौं।”

रोजगारीका लागि भारत गएका उनी ५ वैशाखमा भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए। गाउँलेले उनी आएको जानकारी स्थानीय प्रशासनलाई दिएपछि स्थानीय क्वारेन्टाइनमा पठाइएको थियो।

क्वारेन्टाइनमै रहेका बेला उनीलगायत ३० जनाको स्वाब परीक्षण गर्दा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्