ज्यान मार्ने धम्की आएकाे भन्दै बाँके सोनपुरकाे स्वास्थ्यचौकी बन्द

बाँके। खजुरा गाउँपालिका-७, सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ।

स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्की आएकाे भन्दै स्वास्थ्यचौकी बन्द गरिएको हो।

स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा धम्की आएकाे त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले बताएका छन्।

उनीहरूले यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए।

कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र व्यवहार गरेको स्वास्थ्यचौकी इञ्चार्ज सुदीप पौडेलले बताए।

कार्यालय परिसरमै आएर केही व्यक्तिहरूले स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धम्की दिएपछि आजदेखि स्वास्थ्यचौकी बन्द गरिएको हाे।

पाैडेलका अनुसार काम गर्ने वातावरण नभएकाले सुरक्षाको प्रत्याभूति दिलाउन धम्की दिनेमाथि कानूनी कारबाही गर्न यसअघि इलाका प्रहरी कार्यालय धनौलीमा लिखित निवेदन दिइएको थियो।

स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई स्वास्थ्यचौकीमै जन्मेको प्रमाणीकरण गरिदिन दिएकाे दबाब अस्वीकार गर्दा रफी भाटसहितका व्यक्तिले धम्की दिएकाे स्वास्थ्यचाैकी इन्चार्ज पाैडेल बताउँछन्।

२६ वैशाखमा स्वास्थ्यचौकीमा प्रसूति गराउन आएकी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले सुत्केरी व्यथा नलागेको भन्दै घर फर्काएका थिए।

घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै शिशु जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा धम्की खेप्नु परेकाे पाैडेलकाे भनाइ छ।

इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक प्रहरी पोषणराज थपलियाले घटनाबारे अनुसन्धान भइरहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्