भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई रातारात सीमामा छाडिँदै

कैलाली। भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई रातारात सीमा क्षेत्रमा ल्याएर छाड्ने गरिएकाे छ।

भारतीय पक्षले सीमामा छाडेका नेपालीहरू भने रातारात नै नेपाल प्रवेश गर्ने गरेका छन्।

नेपाल प्रवेश गरेका उनीहरूलाई नेपालको क्वारेन्टाइनमा राखिएको छ।

भारतीय पक्षले ४० दिनपछि २८ र २९ वैशाख राति सीमावर्ती भारतीय बजार वनवासाको क्वारेन्टाइनमा रहेका नेपालीलाई टनकपुर नाका भएर ब्रम्हदेव ल्याएर छाडेकाे थियाे।

२८ वैशाखमा ७५ र २९ वैशाखमा १६७ जनालाई ब्रम्हदेव ल्याएर छाडिएकाे थियाे।

उनीहरूलाई कञ्चनपुर भीमदत्त नगरपालिका-४, महेन्द्रनगरस्थित बैजनाथ स्कुलको क्वारेन्टाइनमा राखिएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय पक्षले एकलौटीरूपमा समन्वय नगरी सीमामा ल्याएर छाड्ने गरेको बताए। उनले स्वदेश फर्किएका नेपालीहरूलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने बताएका छन्।

उनका अनुसार स्वास्थ्य परीक्षणपछि मात्रै उनीहरूलाई स्थानीय तहको समन्वयमा जिम्मा लगाइनेछ।

प्रतिक्रिया दिनुहोस्