लकडाउनका कारण रोकियो शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन
काठमाडौं। शिक्षक सेवा आयोगले स्थायी शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन फारम भर्ने काम रोकेको छ।

११ चैतबाट जारी लकडाउनका कारण शैक्षिक संस्थाहरू खुल्न नसकेको भन्दै आयोगले उक्त कार्य तत्काललाई रोकेको हो।

शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) ले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरू भएको ३० दिनभित्र कार्यसम्पादन मूल्यांकन फारम भरेर सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने प्रावधान छ।

तर, लामो समयदेखिको लकडाउनका कारण सम्पूर्ण शैक्षिक संस्था पूर्णरूपमा बन्द रहेकाले शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन फारम भर्न, दर्ता गराउन तथा मूल्यांकन गराउन नसकिएको आयोगले जनाएको छ।

लकडाउन खुल्ला भई विद्यालयहरू सञ्चालनमा आउने समय यकिन भइनसकेको सन्दर्भमा शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने, दर्ता गर्ने र मूल्याङ्कन गर्ने कार्यको लागि विद्यालयहरू नियमित सञ्चालन भएपछि आयोगले निश्चित अवधिसहित पुनः सूचना प्रकाशन गर्ने आयोगका प्रशासकीय प्रमुख वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए।

आयोगको आज बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि यो कार्य स्थगित गरिएको अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्