कोभिड-१९ : ५० दिनपछि भारतमा रेल सेवा सञ्चालनमा

नयाँदिल्ली। कोभिड-१९ महामारी फैलिन नदिन बन्द गरिएको भारतीय रेल सेवा आजदेखि सीमित मात्रामा सञ्‍चालनमा आएको छ।

केन्द्र सरकारले यात्रीवाहक रेल शुरु गर्ने निर्णय लिएअनुसार टिकट बुकिङ खुला गरिएको छ। हिजो टिकट लिन विभिन्‍न रेल स्टेशनहरूमा भीड जम्मा भएको थियो।

कतिपय रुटका रेल केही मिनटमै भरिएका थिए। कतिपय रुटमा पाँच दिनका लागि टिकट बुकिङ भइसकेको छ।

केन्द्रीय रेल मन्त्रालयले रेल सञ्‍चालनका लागि छुट्ने समय, भाडा र भौतिक दूरीका नियम जारी गरेको छ। श्रमिक स्पेसल रेलमा एकसाथ एक हजार सात सय यात्रीले यात्रा गर्न पाउने भएका छन्।

रेलबाट उत्रिएर पनि घरसम्म कसरी यात्रीलाई पुग्न दिने भन्‍नेबारे सरकारी अधिकारीहरूले गहन छलफल गरेका थिए। रेलको कन्फर्म टिकट देखाएपछि सुरक्षाकर्मीले उनीहरूलाई घरसम्म जान दिने निर्णय भएको छ।

रेल स्टेसनमा यात्रीहरूको स्क्रिनिङ गरिनेछ। र, यात्रीलाई स्यानिटाइजर उपलब्ध गराइने छ। यात्राका दौरान यात्रीले अनिवार्य मास्क लगाउनुपर्ने छ।

अर्को राज्यमा अलपत्र रहेका मजदुरहरूका लागि श्रमिक स्पेसल रेल सेवालाई निरन्तरता दिइने केन्द्रीय रेल मन्त्रालयले जनाएको छ। हिजोसम्ममा भारत सरकारले चार सय ६८ वटा रेलमार्फत करिब चार लाख मजदुरलाई घर पुर्‍याइसकेको छ।

रेलमन्त्री पीयूष गोयलका अनुसार थप तीन सयवटा श्रमिक स्पेसल रेल चलाउने योजना छ।

सञ्‍चालनमा ल्याइएका रेलमध्ये सबैजसोले नयाँदिल्ली, मुम्बई, कोलकाता, बैंग्लोर, गुवाहाटीलगायत प्रमुख शहरहरू जोड्ने छन्।

प्रतिक्रिया दिनुहोस्