इरानी युद्धपोतले प्रहार गरेकाे क्षेप्यास्त्र अर्काे युद्धपाेतमा खस्दा १९ सैनिकको मृत्यु

दुबई। तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको मृत्यु भएकाे छ।

गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरू १५ जना घाइते भएको इरानी संचारमाध्यमहरूले जनाएका छन्।

खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामुद्रिक मार्गका रूपमा रहेको ओमानी जलक्षेत्र हुँदै जहाजहरु स्ट्रेट अफ हर्मुजतर्फ ओहोरदोहोर गर्दछन्।

स्ट्रेट अफ हर्मुज र ओमानी जलक्षेत्रमा इरानले नियमितरूपमा सैन्य अभ्यास गर्ने गरेको छ। इरानी टेलिभिजन आइरिबले एउटा जहाजबाट प्रहार गरिएको क्षेप्यास्त्र नजिकै रहेको अर्को जहाजमा खसेको जनाएको छ।

फार्स समाचार एजेन्सीले एक सैनिक स्रोतलाई उद्धृत गर्दै इरानी संचारमाध्यममा प्रसारण भएझैं कोनाराक नामको लडाकू युद्धपोत समुद्रमा नडुबेको जनाएको छ। इरानी जलसेनाले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानले खरिद गरेको थियो। यो जहाजलाई सन् २०१८ मा मर्मत गरी यसमा चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ।

यो दुर्घटना इरान र संयुक्तराज्य अमेरिकाबीच जारी तनावकै बीचमा भएको छ। सन् २०१८ देखि नै दुबै मुलुकबीच तनावकै स्थिति रहे पनि गत जनवरीको शुरूमा वरिष्ट इरानी सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा मारिएपछि तनाब अझ बढेको छ।

अमेरिकी कारबाहीको प्रतिशोधमा इरानले पनि ९ जनवरीमा इराकस्थित अमेरिकी अखडाहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यही दिन इरानी सैनिकले प्रहार गरेको क्षेप्यास्त्रबाट युक्रेनी यात्रुवाहक विमान इरानमा खसेको थियो, जसका कारण विमानमा यात्रारत १७६ जनाको निधन भएको थियो। रासस-एपीएफ

प्रतिक्रिया दिनुहोस्