वन्यजन्तुको वासस्थान संरक्षणमा जुटे चितवनका पर्यटन व्यवसायी
चितवन। सौराहाका पर्यटन व्यवसायी ‘लकडाउन’को समयको सदुपयोग गर्दै संरक्षण क्षेत्रमा जुटेका छन्। लामो समय लकडाउन हुँदा सौराहाका पर्यटन व्यवसायी वन्यजन्तुको वासस्थान संरक्षणमा जुटेका हुन्।

उनीहरूले निकुञ्जसँग सहकार्य गरेर ९१ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरेका छन्। प्रकृति संरक्षण कोष, क्षेत्रीय रेवान, वमघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वन, जीप समिति, रत्ननगर नगरपालिका वडा नं ६, ७ र विभिन्न व्यक्तिको सहयोगमा पर्यटन व्यवसायीले घाँसेमैदान व्यवस्थापन गरेका हुन्। उनीहरुले निकुञ्जभित्र पर्ने पुरानो पदमपुरको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरेका हुन्।

सौराहा हात्ती तथा जीप बुकिङ् सेन्टरका सचिव राममणि खनालका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम गरिएको हो। मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्यका लागि यसले सहयोग पुग्ने उनको भनाइ छ। पर्यटकको आवागमन नहुँदा पर्यटन व्यवसायीले संरक्षणमा काम गर्नुपर्ने भन्दै यो अभियान शुरू गरिएको उनले जानकारी दिए। चार लाख ५८ हजार रूपैयाँ लागतमा सो क्षेत्र व्यवस्थापन गरिएको हो ।

घाँसे मैदानसँगै पोखरीको व्यवस्थापन गर्न सकेमा संरक्षणमा सकारात्मक प्रभाव पर्ने निजी संघसंस्था तथा व्यवसायीको भनाइ छ। घाँसे मैदान र पोखरीको व्यवस्थापनले वन्यजन्तु गाउँमा पस्न रोक्न सकिनेछ। निकुञ्जभित्रै घाँसे मैदान र पोखरी व्यवस्थापन गर्न सक्दा वन्यजन्तु चरनका लागि वस्ती पस्दैनन्।

निकुञ्जले यस चालू आर्थिक वर्षमा घाँसे मैदान र पोखरी व्यवस्थापनका लागि मात्रै तीन करोड ५० लाख रूपैयाँ खर्च गर्दैछ। सो रकमबाट १०० हेक्टर पुरानो घाँसे मैदान र ६०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्दैछ।

निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार पुरानो घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भइसकेको छ। नयाँ ३०० हेक्टर सम्पन्न भइसकेको छ भने बाँकी व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए।

उनका अनुसार घाँसे मैदान र पोखरी व्यवस्थापनको काम गर्न सके चोरीशिकारी नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ। निकुञ्जको पूर्वी क्षेत्रमा मात्रै चारवटा ठूला तालसहित ३५ वटा पोखरी निर्माण भइरहेको छ। निकुञ्जका सबै क्षेत्रमा गरेर अहिले ७५ वटा ताल तथा पोखरी निर्माण गरिँदैछ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले पाँच वर्षसम्म घाँसे मैदान व्यवस्थापनको कामलाई महाअभियानका रूपमा अघि बढाउन जरुरी रहेको बताए। अहिले निर्माण गरिएका घाँसे मैदानको व्यवस्थित व्यवस्थापन गर्न सकेमा वन्यजन्तु वस्ती नपस्ने उनको भनाइ छ। फँडानी गरिएको स्थानमा नियमितरुपमा पाँच वर्ष घाँसे मैदानका रूपमा राख्नसके  वन्यजन्तुको चरन क्षेत्रका रूपमा विकास भई संरक्षणमा समेत टेवा पुग्ने उनले बताए।

निकुञ्ज स्थापनाका समयमा २० हजार हेक्टर घाँसे मैदान भएको भए पनि घट्दै गएको पाइन्छ। रुपाखेतीका अनुसार अहिले १० हजार हेक्टर मात्र घाँसे मैदान रहेको र यसलाई व्यवस्थापन गर्न कठिन भएको छ। यस वर्षबाट उपकरण प्रयोग गरी घाँसे मैदान व्यवस्थापन शुरू गरिएको छ।  रासस

प्रतिक्रिया दिनुहोस्