अफगानिस्तानका ब्याट्सम्यान शफाकलाई ६ वर्ष प्रतिबन्ध
<p>काठमाडौं। ‘एन्टी करप्सन’ नियम उल्लंघन गरेको आरोपमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिउल्लाह शफाकलाई सबै स्वरूपको क्रिकेटबाट ६ वर्षका लागि प्रतिबन्ध लगाइएको छ। </p>
<p>सन् २०१८ मा अफगानिस्तानको क्लब नानगहर लियोपार्ड्सबाट तथा गत वर्ष बंगलादेश प्रिमियर लिगको सिल्हट थन्डरबाट खेल्दा शफाकलाई चारवटा आरोप लागेको थियो। ती सबै आरोप उनले स्वीकार गरेका छन्।</p>
<p>३० वर्षे शफाकले २४ एकदिवसीय अन्तर्राष्‍ट्रिय तथा ४६ ट्वान्टी-२० खेल खेलका छन्। अफगानिस्तान क्रिकेट बोर्डका सिनियर एन्टी करप्सन म्यानेजर अनवर शाह कुरैशीले यो प्रतिबन्धले अरू सबै खेलाडीलाई पनि सचेत हुन चेतावनी दिएको बताए। </p>
<p>‘‘यो एकदम गम्भीर अपराध हो। जहाँ उच्चस्तरको घरेलु प्रतियोगिता अफगानिस्तान प्रिमियर लिग २०१८ मा राष्‍ट्रिय खेलाडी भ्रष्‍टाचारमा संलग्‍न भए,’’ कुरैशीले भने, ‘‘बंगलादेश प्रिमियर लिग २०१९ मा पनि उनले आफ्नो साथीलाई पनि संलग्‍न गराउन खोजेका थिए। तर सफल भएनन्। यसले क्रिकेटमा अवैध क्रियाकलाप गर्नेबारे सोचिरहेका छन्, उनीहरूका लागि यो गम्भीर चेतावनी हो।’’</p>
प्रतिक्रिया दिनुहोस्
