सर्वोच्च अदालतले कोभिड-१९ मा रोकिएका थप केही सेवा प्रवाह गर्ने
<p>काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ। </p>
<p>प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले भेलि, २९ वैशाखदेखि सरकार निवेदक भएको मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका सरकारका तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्दाको सुनुवाइ शुरू गर्ने निर्णय गरेको हो। </p>
<p>बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा न्याय सम्पादनसम्बन्धी थप काम शुरू गर्न सकिने कि नसकिने भन्ने विषयमा सर्वोच्चले उच्च अदालतसँग राय पनि मागेको उल्लेख छ। </p>
<p>साथै, उच्च अदालतलाई आफू मातहतका अदालतका न्यायाधीश, कर्मचारी, सरकारी वकील कार्यालय र बार एकाइसँग परामर्श गरी राय दिन विज्ञप्तिमा भनिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
