सिक्किमसँग जोडिएको सीमामा भारत र चीनका सैनिकबीच झडप, दुई देशका ११ सैनिक घाइते

काठमाडौं। दुवै देशका करीब १५० जना सैनिकहरू २७ वैशाखमा सिक्किमको सीमामा भएको झडपमा सहभागि थिए। जसमध्ये चार भारतीय सैनिक र सात जना चिनियाँ सैनिक घाइते भएको भारतीय मिडियाहरूले रिपोर्ट गरेका छन्।

भारतीय सेनाले घटनाको पुष्टि गर्दै भनेको छ- ‘दुवै पक्ष आक्रमक भएका थिए। केही सैनिक सामान्य घाइते भएका छन्। स्थानीय तहमै छलफलद्वारा यो विवादको अन्त्य गरिनेछ।’

सिक्किमको नाकु ला क्षेत्रमा झडप भएको हो। उक्त क्षेत्र पाँच हजार मिटर उचाईमा पर्छ। भारतीय र चिनियाँ सैनिक नियमित गस्तीमा रहेको बेला झडप भएको हो।

सन् २०१९ को सेप्टेम्बरमा पूर्वी लद्दाखमा पनि दुई देशका सैनिकबीच झडप भएको थियो। यद्यपी पछि वार्ताद्वारा समस्या समाधान गरिएको थियो।

दुवै देशबीच लामो टकराव भने सन् २०१७ मा दोक्लममा भएको थियो। चीनले भुटानसँग जोडिएको सीमामा सडक बनाएपछि भारतीय सेनाले त्यसलाई रोक्न खोजेको थियो। उक्त क्षेत्रमा ७३ दिनसम्म तनाव भएको थियो।

प्रतिक्रिया दिनुहोस्