टाईम कार्ड लागू गरेसँगै उपत्यकामा सवारी जाँचमा कडाई
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका तीन जिल्लामा बिहानैदेखि सवारी जाँच कडा पारेको छ।

आजदेखि उपत्यकाका तीन जिल्लामा सवारीसाधन सञ्चालन गर्न समय निर्धारण (टाइम कार्ड) लागू भएपछि प्रहरीले जाँच कडा पारेको हो।

आजदेखि समय निर्धारण गरेर प्रयोजनबाहेक सवारीसाधन गुड्न रोक लगाउने निर्णय सँगै बिहानैदेखि कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले देखापढीलाई बताए।

अहिले बिहान ९ बजेसम्मको विवरण अनुसार ट्राफिक प्रहरीले ३१६ वटा दुई पाङ्ग्रे र २४ वटा चार पाङ्ग्रे सवारी नियन्त्रणमा लिएको छ।

लकडाउनको उल्लंघन गर्दै सवारी गुड्ने क्रम दिन प्रतिदिन बढ्न थालेपछि निश्चित समय निर्धारण गरिएको हो।

प्रहरीले आजदेखि पास भएका सवारी साधन पनि बिना प्रयोजन गुडेको भेटिए नियन्त्रणमा लिने जनाएको छ।

आजदेखि निर्माण सामाग्री बोकेका ठूला सवारीसाधन उपत्यका भित्र राति ८-६ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ।

एक तिहाइ कर्मचारीको मात्रै उपस्थिति हुने गरी सञ्चालन गर्न भनेका कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेभित्रमा कार्यालयमा पुगिसक्नुपर्ने छ।

त्यस्तै घर फर्किदा बैंक, वित्तीय संस्थाका कर्मचारीहरू दिउँसो साढे ३ देखि साढे ५ बजे र सरकारी कार्यालयका कर्मचारी बेलुका ५ देखि ६ बजेको तय गरिएको छ।

तरकारी, फलफूल, खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सवारीसाधन बिहान १० बजेसम्ममात्रै सञ्चालन हुन पाउने छन्।

पानी, स्वास्थ्यसम्बन्धी अत्यावश्यक क्षेत्रका सवारीसाधनका हकमा भने समय निर्धारण गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्