सडक खन्‍न भेला भएका गाउँले हटाउन खोज्दा दैलेखमा प्रहरीमाथि आक्रमण, दुई राउण्ड हवाईफायर
दैलेख। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ मा स्थानीयवासीले ढुङ्गामुढा गरेपछि प्रहरीले दुई राउण्ड हवाईफायर गरेको छ।

ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार हिजो साँझ ७ बजेतिर झडप हुँदा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ।

सालटाकुरा नाव-साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लंघन गरी ५०/६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो।

स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेपछि बाध्य भएर भीड नियन्त्रणमा लिन जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले बताए।

“लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आक्रमण हुँदा सो घटना भएको हो”, नगरपालिकाका उपप्रमुख तारा शाहीले भनिन्।

हिजो दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो ।

उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भीडभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताएकी छन्।

अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ।

घटनाको थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारवाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए।

प्रदेश सरकारको २० लाख र नगरपालिकाको पाँच लाख साझेदारीसहित २५ लाख  रकममा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण कार्य भइरहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्