सीमाबाट फर्काइएका १८० नेपालीको विनय : 'महाकाली पुलको ढोका खोल, पराई भूमिमा मर्न नदेऊ'

कैलाली। भारतको उत्तराखण्डको विभिन्‍न ठाउँबाट झण्‍डै १२० किलोमिटर पैदल हिँडेर नेपाली सीमा आइपुगेका १८० नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले फर्काएको छ।

हिजो बिहान झिसमिसेमा महेन्द्रनगरको सीमापारि बाबाथान आइपुगेका उनीहरूलाई राति ११ बजे कुटपिट गर्दै सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले रुद्रपुर पुर्‍याएका छन्।

घर फर्कने आशामा आएका उनीहरूलाई बसमा कोचाकोच गरेर लगेपछि खुशी क्षणभरमै मेटिएको छ।

तीन दिन लगातार हिँडेका उनीहरुलाई हिजो, २७ वैशाखमा काँग्रेस आई उत्तर प्रदेशका महासचिव भुवन कापडीको नेतृत्वमा खाना खुवाइएको थियो।

त्यहाँका सुरक्षाकर्मीले उनीहरूलाई एक महीना बढी बसेकै क्वारेन्टाइनमा लगेर छाडेका छन्। केही दिनअघि प्रहरीले उनीहरूलाई क्वारेन्टाइनबाट निकालेको थियो।

"विकल्प पनि छैन। आशाका त्यान्द्रो केही बाँकी रहेन", डडेल्धुराको पर्शुराम नगरपालिका-४ कुर्मुल्लेका सुशिल जोशीले भने, "हामीलाई बचाईदिनुपर्‍यो, बाँच्न चाहन्छौं।"

सँगै रहेका उनका साथीहरू नेपाल सरकारसमक्ष घर फर्किने वातावरण बनाइदिन पहलका लागि याचना गरिरहेका थिए।

"महाकाली पुलको ढोका खोलिदिन बिन्ति गर्छौं। भारतीय प्रहरीले एक ठाउँबाट लखेटेर कतिखेर कहाँ पुर्‍याउँछ थाहा छैन", न खान न त सुत्‍न नै पाएका छौं। कि हामीलाई नागरिक होइन भन। हामी मर्नै परे, आफ्नै देशमा मर्न चाहन्छौं। पराई भूमिमा हामीलाई मर्न नदेऊ", जोशीले भने।

प्रतिक्रिया दिनुहोस्