सीमामा घुसपैठ रोक्न गाउँपालिकाले परिचालन गर्‍यो स्वयंसेवक दल
कैलाली । कैलालीको कैलारी गाउँपालिकाले सिमानामा थप सुरक्षाका लागि सशस्त्र प्रहरीसँगै रहने गरी स्वयंसेवक खटाएको छ ।

गाउँपालिकाले सिमानामा जोडिएका ३, ५ र ७ वडाका गाउँमा स्वयंसेवक दल गठन गरेर सुरक्षाका लागि खटाएको हो ।

सीमामा खटिएका सशस्त्र र नेपाल प्रहरीसँगै स्वयंसेवकहरू चौबीसै घण्टा खट्ने गरेको गाउँपालिकाका प्रवक्ता कलमप्रसाद चौधरीले जानकारी दिए ।

कोभिड-१९ को संक्रमण रोकथाम अभियानका क्रममा गाउँपालिकाको कार्यपालिका बैठकले स्वयंसेवक दल गठन गरेर परिचालन गर्ने निर्णय गरेको थियो । सीमामा जोडिएका वडाका गाउँमा २० जनासम्मको स्वयंसेवक दल परिचालन गरिएको उनले बताए ।

खुला सीमाका कारण भारतबाट घुसपैठ हुँदा कोरोनाको जोखिम बढ्न सक्ने भएकाले सुरक्षा व्यवस्था थप मजबुत बनाउन स्वयंसेवक परिचालन गरिएको
चौधरीले बताए ।

उक्त क्षेत्रमा भारतसँग नजिक र मोहना नदीपारि मोहनपुर, शिवरत्नपुर र हौसलपुर गरी तीनवटा गाउँ छन् । तीनवटै गाउँ कैलारी गाउँपालिकामा पर्छन् ।

भारततर्फबाट हुन सक्ने घुसपैठको हिसाबले सो क्षेत्र जोखिमयुक्त मानिएको छ । त्यहाँ सुरक्षाका लागि सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् ।

सशस्त्र प्रहरी नम्बर ३४ गुल्मका गणपति एसपी कमल तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम भारतसँग सीमा जोडिएको एक सय एक किलोमिटरमा जोडिएका स्थानीय तहसँगको समन्वयमा सबै क्षेत्रमा स्वयंसेवक परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्