रेड्डिटमा अनधिकृत रूपमा महिलाको तस्वीर र भिडिओ सेयर गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै प्रहरी

काठमाडौं। केही दिनअघि सामाजिक सञ्जालमा भइरहेको एउटा गतिविधी सार्वजनिक भयो। माइक्रोब्लगिङ साइट रेड्डिटमा पुरूषहरूले बनाएको गोप्य समूहमा महिलालाई यौनवस्तुको रूपमा चित्रण गरिएको थियो।

फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता साामजिक सञ्जालमा महिलाले राखेका आफ्ना तस्वीरलाई अनधिकृत रूपमा उपयोग गर्दै उनीहरूलाई विभिन्न अश्लिल लाञ्छना लगाइएको थियो। उनीहरूलाई गलत रूपमा चित्रण गर्दै ती गोप्य कक्षमा उनीहरूको आईडी सेयर गर्ने गरिएको थियो। चार हजार ५०० जति सदस्य भएको ‘नेपाली बेब्स’ नाम दिइएको सबरेड्डिट्समा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको तस्वीर र भिडिओ अनधिकृत रूपमा प्रयोग गर्ने गरेको सार्वजनिक भएको थियो।

आफ्ना तस्वीरहरू त्यसरी प्रयोग गरिएको पाइएपछि विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूले ती हर्कत सार्वजनिक गरेका थिए। त्यसरी सार्वजनिक गर्ने महिलालाई झनै लाञ्छना लगाउने गर्न थालिएपछि उनीहरले नेपाल प्रहरीको केन्द्रीय सार्वजनिक ब्युरोमा उजुरी गरेका थिए।

त्यसरी परेका उजुरीमाथि ब्युरोले आवश्यक विश्लेषण तथा अनुसन्धान भइरहेको जनाएको छ। ब्युरोले आफ्नो फेसबुक पेजमा अनुसन्धान भइरहेको जनाएको हो।

‘सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूबाट तस्वीरहरू डाउनलोड गरेर, रेड्डिट नामक माइक्रोब्लगिङ साईटमा अनाधिकृत रूपमा प्रयोग भइरहेको सम्बन्धमा यस साइबर ब्युरोको ध्यानाकर्षण भई आवश्यक विश्लेषण तथा अनुसन्धान भईरहेको छ’, ब्युरोको फेसबुक पेजमा उल्लेख गरिएको छ।

यही हप्ता भारतको दिल्लीमा पनि यस्तै खालका हर्कत देखापरेपछि त्यहाँको प्रहरीको साइबर सेलले आफैले प्रतिवेदन तयार पारेर कारवाही अगाडि बढाएको थियो। दक्षिण दिल्लीका किशोरहरूले इन्स्टाग्राममा बनाएको ग्रुप ‘ब्वोइज लकर रूम’मा अश्लील टिप्पणी गर्दै स्कुले छात्राहरूको तस्वीर सेयर गर्ने गरेको सार्वजनिक भएको थियो।

सहपाठी छात्राको सामुहिक बलात्कार गर्नेसम्मको कुराकानी भएका स्क्रिन सटहरू ट्वीटरमा सार्वजनिक भएपछि प्रहरीले ती किशोरहरूको पहिचान गरेर गिरफ्तार गरेको थियो।

पढ्नुहोस्: सामाजिक सञ्जालमा महिलामाथि हुँदैछ अर्को डरलाग्दो यौन उत्पीडन

प्रतिक्रिया दिनुहोस्