चिनियाँले सिंहदरबार अगाडी गरेको प्रदर्शनप्रति दूतावासले भन्यो- 'नेपालको कानून मान्नैपर्छ'
<p>काठमाडौं। घर जान पाउने माग गर्दै चिनियाँ नागरिकले काठमाडौंमा गरेको प्रदर्शनप्रति प्रतिक्रिया दिँदै चिनियाँ दूताबासले नेपाल प्रहरीसँगको परामर्शमा घटना सुल्झाइएको बताएको छ। </p>
<p>दूतावासको ‘राजनीतिक तथा सञ्चार शाखा’ का एक जना अधिकृतले सञ्चार माध्यमलाई दूतावासको प्रतिक्रिया भनि पठाएको इमेलमा नेपालमा रहेका सबै चिनियाँले यहाँको कानून पालना गर्नुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताएका छन्। साथै दूतावासले आफ्ना मागहरू कानूनी र तर्कसंगत रूपमा पेश गर्न पनि आफ्ना नागरिकलाई भनेको छ। </p>
<p>नेपालमा ठूलो संख्यामा चिनियाँहरू रहेको र नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएका कारण सबैलाई फर्काउन नसकिएको पनि दूतावासले स्पष्ट पारेको छ। नेपालले ३१ मे सम्म अन्तर्राष्ट्रिय सीमा र उडान बन्द गरेको छ। साथै यसबीचमा नेपलसँग समन्वय गरेर ३४० जना चिनियाँलाई स्वदेश फर्काइएको पनि दूतावासले जनाएको छ। </p>
<p>दूतावासले आफ्ना नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र उडानमा लगाएको रोक खुला नहुँदासम्म धैर्यतापूर्वक बस्न पनि आग्रह गरेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
