सुदूरपश्चिममा कोरोना शंकास्पदको मात्रै पीसीआर जाँच हुने

कैलाली। किट अभावमा कोभिड-१९ को परीक्षण रोकिएको सुदूरपश्‍चिम प्रदेशमा आजदेखि पुनः परीक्षण सुरु हुने भएको छ।

स्विस सरकारले दिएको ३० हजार पीसीआर किटमध्ये हिजो साँझ तीन सय ८४ थान धनगढी ल्याइएको छ। किट अभावमा सुदूरपश्‍चिममा तीन दिनदेखि परीक्षण रोकिएको थियो।

पहिलो चरणमा बुधबारदेखि संकलन भएर थन्किएका ५५ वटा थ्रोट स्वाबको परीक्षण गरिने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। अबदेखि कोरोना भाइरस संक्रमणको लक्षण देखिएका बिरामीको मात्रै स्वाब परीक्षण गरिने उनले जानकारी दिए।

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी-पीसीआर मेसिनमार्फत हुने कोरोना परीक्षण किट अभावका कारण ठप्प भएको थियो। अन्तिम पटक गत बुधबार चार जनाको परीक्षण भएको थियो।

हालसम्म सुदूरपश्‍चिममा दुई हजार नौ सय २३ जनाको पीसीआर र १४ हजार ९१ जनाको आरडीटी परीक्षण गरिएको छ। सुदूरपश्‍चिममा पाँचजना कोरोना भाइरस संक्रमित देखिएकोमा पाँचैजना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्