अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता: सेमिफाइनलबाट बाहिरिए नेपाली खेलाडी
काठमाडौं। कोभिड-१९ महामारीको समयमा अनलाइनमार्फत् भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको यात्रा सेमिफाइनलमा पुगेर समाप्त भएको छ।

जर्मनीमा भइरहेको प्रथम अनलाइन डाएडो खुला युरोपियन च्याम्पियनसिप २०२० प्रतियोगितामा पाँच नेपाली खेलाडीले सहभागिता जनाएका थिए।

पाँचमध्ये पार्वती गुरुङ र लक्ष्मणबहादुर ऐरको यात्रा प्रिलिमिनरी राउण्डमै टुंगिएको थियो। जीतबहादुर बोट, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बु भने सेमिफाइनलमा स्थान बनाएका थिए।

पार्वतीले महिलातर्फ ३० वर्षमुनिको उमेर समूहमा प्रतिस्पर्धा गरेकी थिइन् भने लक्ष्मणबहादुरले पुरुषतर्फ ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए।

पार्वतीको उमेर समूहमा ११२ जनाले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये पार्वती रहेको समूहमा २८ जना थिए। समूह ‘ए’ मा पार्वती १५ औं नम्बरमा थिइन्। तर, समूह ‘ए’ बाट १४ जना मात्रलाई अघिल्लाे चरणका लागि छनोट गरेपछि पार्वतीको यात्रा पहिलो चरणमै समाप्त भएको थियो।

“थोरैले म प्रतियोगिताबाट बाहिरिए। यसलाई मैले दुर्भाग्य मानेको छु”, पार्वतीले भनिन्।

जीतबहादुर, कमल र प्रेमबहादुरले पुरुषतर्फ ३० वर्ष मुनिको उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए। उनीहरू शीर्ष ५५ भित्र पर्न सफल भएका थिए।

सेमिफाइनलबाट फाइनल चरणमा पुग्न शीर्ष आठभित्र पर्नुपर्ने प्रावधान रहेको लक्ष्मणबहादुरले बताए। उनका अनुसार सेमिफाइनल पुग्न सफल तीन नेपाली खेलाडी फाइनल चरणमा स्थान बनाउन भने सफल भएनन्।

कति स्थानमा पर्न सफल भएको भन्ने नतिजा भने भाेलि, २७ वैशाखमा मात्र आउने लक्ष्मणबहादुरले बताए।

लकडाउनका बीच पनि नियमित दैनिक चार घण्टा प्रशिक्षण गरिरहेका खेलाडीले अब अनलाइन वर्ल्ड पुम्से च्याम्पियनसिप २०२० मा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

फ्रान्समा हुने प्रतियोगिताका लागि सम्पूर्ण प्रकृया पूरा गरिसकेको लक्ष्मणबहादुरले बताए।

फ्रान्समा १० देखि १५ मार्चसम्म हुने प्रतियोगितामा नेपालको तर्फबाट सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसका लागि सबैको भिडिओ पठाइसकेको लक्ष्मणबहादुरले बताए।

प्रतिक्रिया दिनुहोस्