सैन्य अभ्यासका क्रममा बम हरायो, गाउँलेलाई जंगल जान रोक

काठमाडौं। बाग्लुङको काठेखोला गाउँपालिका-५ घोडाबाँधेस्थित जंगलमा सैन्य अभ्यासको क्रममा बम हराएपछि गाउँलेलाई जंगल जान रोक लगाइएको छ।

१८ वैशाखमा नेपाली सेनाको अर्जुनवाण गण अन्तर्गत प्रशिक्षार्थीहरू सैन्य अभ्यास गर्ने क्रममा बम हराएको थियो।

बम नभेटिएपछि नेपाली सेनाले पत्र लेखेर सर्वसाधारणलाई जंगलमा जान नदिन अनुरोध गर्दै पत्र पठाएको गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले देखापढीलाई बताए।

“बम हराएको भनेर पत्र आएसँगै हामीले गाउँलेलाई जंगल नजान सूचना गरेका छौं”, उनले भने, “बम कति शक्तिशाली हो भन्ने केही खुलाइएको छैन।”

गाउँपालिकालाई लेखेको पत्रमा सेनाले फायरिङको अभ्यास गराउने क्रममा एक थान बम हराएको उल्लेख गरेको छ।

बमको खोजि गर्न नेपाली सेनाले अहिले जंगलमा दैनिक बम खोजिरहेको छ।

बमको खोजी कार्य जारी रहेको गणका प्रमुख कर्नेल मिलनध्वज खाँणले बताए।

“तालिमका क्रममा हराएको हो। त्यति ठूलो विषय होइन”, उनले भने, “अहिले भेटि सकेको छैन। असुरक्षा नहोस भनेर हामीले पनि सबैलाई सूचना दिइरहेका छौं।”

प्रतिक्रिया दिनुहोस्