महामारी रोकथाम र उपचारका लागि आपतकालीन प्रतिकार्य योजना तयार

काठमाडौं। सरकारले विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को प्रतिकार्यका लागि 'स्वास्थ्य क्षेत्रको आपतकालीन प्रतिकार्य योजना २०७७' स्वीकृत गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको प्रेस ब्रिफिङमा यस योजनाले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण, उपचार तथा रोकथाममा सहयोग पुग्‍ने बताए।

"महामारीले नागरिकको स्वास्थ्यमा पार्ने असर न्यूनिकरण र यससँग जुध्‍न नीतिगत व्यवस्था गरेको छ", देवकोटाले भने, 'कोभिड-१९ को रोकथाम तथा उपचारका लागि स्रोतको पहिचान तथा परिचालनका लागि पनि यसले सहयोग पुग्‍नेछ।"

संक्रमित बढी देखिएको क्षेत्रमा 'मास टेष्‍ट' को लागि मन्त्रालय, विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको संयुक्त टोली परीक्षणका लागि आवश्यक किट र उपकरणसहित परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

स्वीस सरकारबाट हिजो प्राप्त ३० हजार थान किट देशका सबै ठाउँका प्रयोगशालामा पठाइसकिएकोले अब पीसीआर परीक्षण वृद्धि हुने प्रवक्ता देवकोटाले बताए।

हालसम्म देशभर पीसीआर प्रविधिबाट १५ हजार ४९२ र आरडीटी प्रविधिबाट ५४ हजार ५३१ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा ८५९ जनाको परीक्षण गरिएको छ।

आज भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्‍जमा १६ वर्षीय पुरुषमा पोजिटिभ देखिएको छ।

यो सहित नेपालमा कूल संक्रमित १०२ जना पुगेका छन्।

आज विराटनगरस्थित कोशी अस्पतालबाट ८ जनालाई डस्चार्ज गरिएको छ। योसँगै निको हुनेको संख्या ३० पुगेको छ।

देशभरका क्वारेन्टाइनमा १५ हजार ६२४ जना छन् भने संक्रमित र शंकास्पदसमेत गरी १३५ जना आइसोलेसनमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्