सांसद् अपहरण भनिएको घटनाको जाहेरी काठमाडौं प्रहरीमा, अनुसन्धान शुरू

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद्‍द्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरी प्रहरी कार्यालयमा पठाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरू गरेको हो।

परिसर प्रमुख एसएसपी श्यामप्रसाद ज्ञवालीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जाहेरी निवेदन आएसँगै अनुसन्धान शुरू गरिएको जानकारी दिए।

जनता समाजवादी पार्टी (जसपा)का सांसद् डा. सुरेन्द्र यादवले जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलमा दिएको जाहेरी आज दिउँसो परिसर पठाइएको हो।

“जाहेरी आएपछि कानूनीरूपले हामीले गर्ने काम शुरू गरेका छौं”, एसएसपी ज्ञवालीले भने, “विस्तृत अनुसन्धान गर्छौं।”

प्रहरी स्रोतका अनुसार परिसरको अनुसन्धान टोली महोत्तरी प्रस्थान गरिसकेको छ।

यसअघि शुरूमा यादवसहितका नेताहरू जाहेरी दर्ता गर्न परिसर पुगेका थिए। तर, प्रहरीले घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिन भनेको थियो।

सरकारी वकिलको कार्यालयले पनि शुरूमा जाहेरी दर्ता गरेको थिएन। यादवले जाहेरी राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमासमेत जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्