दार्चुलाको चार ठाउँमा बीओपी राख्ने तयारी

दार्चुला। भारतसँग सीमा जोडिएका दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बीओपी) राख्ने तयारी गरिएको छ।

गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बलले दार्चुलाका थप नयाँ तीन ठाउँमा बीओपी राख्ने तयारी गरिएको हो। यसका लागि सशस्त्र प्रहरी बलले सो सम्बन्धी कार्ययोजनाका खाका तयार पारेर माथिल्लो निकायमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक डम्मरबहादुर विष्टले बताए।

दार्चुलाको लेकम गाउँपालिका-३ लाली, मालिकार्जुन गाउँपालिका-७ जोलजीवी र व्यास गाउँपालिका-२ दुम्लिङमा सशस्त्र प्रहरीको बीओपी राख्न सकिने कार्ययोजना पठाइएको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

यसअघि दार्चुलाको व्यास गाउँपालिका-१, छाङ्गरुमा बीओपी राख्ने निर्णय भइसकेको छ। सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीलाई भारतसँग प्रत्यक्ष सीमा जोडिएका क्षेत्रमा परिचालन गर्न लागिएको हो।

कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ। सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बीओपी स्थापना गरी परिचालन गर्न लागेको हो।

हाल सीमामा देशभरि १२१ बीओपी छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्‍याउने तयारी गरेको छ।

नेपालतर्फको सीमानाकामा भारतको ५३० बीओपी छन्। नेपाल सरकारले पनि सोही अनुपातमा बीओपी थप्ने तयारी गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले बीओेपी रहने स्थान, आवश्यक पूर्वाधारलगायतका विषयमा जानकारी गराइसकेको छ।

कोरोना संक्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बीओपीमा रुपान्तरण गर्ने सरकारी तयारी छ। सीमा सिलका लागि धनगढी महेन्द्रनगरबाट जिल्लामा ल्याइएको थप जनशक्तिलाई नयाँ स्थापना हुने बीओपीमै राख्ने कार्ययोजना छ। रासस

प्रतिक्रिया दिनुहोस्