खानबस्‍न नदिएको भन्दै छोराले गरे आमाबुवाको हत्या
काठमाडौं। तेह्रथुमको फेदाप गाउँपालिकाका एक युवकले बन्चरो प्रहार गरेर बुवाआमाको हत्या गरेका छन्।

फेदाप गाउँपालिक-५ इसिबुका २० वर्षीय कञ्चन लिम्बूले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

हत्या गरिएकी आमा युवककी सौतेनी आमा हुन्। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डीएसपी नविनकिशोर प्रधानका अनुसार घरायसी विवादमा ती युवकले बन्चरो प्रहार गरेर हिजो बेलुकी हत्या गरेका हुन्।

“हत्या गरिएको हामीलाई जानकारी आएपछि तत्कालै नजिकै रहेको प्रहरी चौकीबाट टोली खटिएको हो”, उनले भने, “युवकलाई नियन्त्रणमा लिइसकिएको छ।”

आफूलाई बुवाले घरमा खानबस्न नदिने र हेला गरेकाले हत्या गरेको उनले स्वीकारेका छन्।

घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको डीएसपी प्रधानले जानकारी दिए।

हत्या गरिएका दम्पतीकी ६ महिनाकी नाबालक छोरीसमेत छिन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्