सर्लाहीमा धान बोकेको भारतीय ट्रकबाट १८ लाख बरामद्
सर्लाही। भारतबाट धान बोकेर आएको ट्रकलाई सर्लाही भन्सार चेकपोष्ट मलंगवामा जाँच गर्ने क्रममा १७ लाख ९० हजार नेपाली रूपैयाँ बरामद् भएको छ।

सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेस मलंगवाको टोलीले आज सर्लाही भन्सार चेकपोष्टमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रक जाँच गर्ने क्रममा उक्त रकम बरामद् गरेको हो।

भारतको विहार राज्यको सीतामढी जिल्लाको मुजेलियाबाट धान बोकेर नेपाल भित्र्याउन लागिएको बीआर ३० जीए २४५८ नम्बरको भारतीय ट्रकबाट नेपाली रूपैयाँ बरामद् भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ट्रकका चालक रामललित मण्डल र सहचालक नीरज कुमारलाई नियन्त्रणमा लिइएकाे छ।  दुवैजना भारतीय नागरिक हुन्।

भारतबाट धान लिएर आएको ट्रक सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित राईस मिलमा जान लागेकाे थियाे। बरामद् रकम हुुण्डी कारोबारीको हुुन सक्ने सशस्त्र प्रहरीको अनुमान छ।

बरामद् रकम सर्लाही भन्सार कार्यालय मलंगवमा आजै बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सञ्जीतकुमार सिंहले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्