विष्फोटक पदार्थसहित इलाममा तीनजना पक्राउ

इलाम। इलाममा सुरक्षाकर्मीहरूको संयुक्त टोलीले विष्फोटक पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ।

इलामको माई नगरपालिका-९, बरुङबाट विभिन्न विष्फोटक पदार्थसहित तीनजनालाई गयराति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा संखुवासभा चैनपुर नगरपालिका-६ बस्ने ५४ वर्षीय हिमाल भन्ने पुष्प कोइराला, ताप्लेजुङ मुकुवाखोला गाउँपालिका-८ का २६ वर्षीय जलन भन्ने पासाङ डन्डु शेर्पा र उदयपुर तामलिक गाउँपालिका-६ बस्ने १९ वर्षीय सौरभ भन्ने पासाङ तामाङ रहेका छन्।

उनीहरूको साथबाट इलेक्ट्रिक डेटोनेटर १९ थान, सकेट बम एक थान, प्रेसरकुकर बम एक थान, कुपि बम एक थान, पाइप बम ए थान, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ करीब तीन किलाे, डेडकट वायर ६७ फिट, बाइनाकुलर एक थान, सलाइ एक दर्जन, रिमोट कन्ट्रोल चार थान, खुकुरी दुई थान, खाली प्रेसरकुकर एक थान, मोबाइल आठ थान बरामद गरिएको छ।

प्रहरी चौकी दानाबारी, प्रहरी चौकी चिसापानी र प्रहरी चौकीमहमाई तथा सशस्त्र प्रहरी बल दानाबारीबाट खटिएको संयुक्त टोलीले सोही ठाउँस्थित खाली घरमा लुकीछिपी बसेको अवस्थामा उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरु तीनैजना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रहेको खुलेको छ। उनीहरूलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्