टेष्ट क्रिकेटमा पुनरागमन गर्ने आशामा जसन रोय
काठमाडौं। इङ्ल्यान्डमा ब्याट्सम्यान जसन रोयले अझै पनि आफूले टेष्ट क्रिकेट खेल्ने आशा नत्यागेको बताएका छन्।

इङ्ल्यान्ड विश्वकप जित्दा टीमका मुख्य सदस्य रोयले गत समरमा पाँच टेष्टमा १८.७० को औसतमा रन बनाएका थिए। उनी एसेस टेष्टमा टीममा अट्न सकेनन्।

‘‘टेष्ट क्रिकेटमा फर्किन मैले धेरै मिहिनेत गरिरहेको छु। यो स्वरूपको क्रिकेटबाट चाँडै टीमबाट बाहिर हुनुपर्दा मलाई धेरै दुःख लाग्यो’’, रोयले भने, ‘‘टेष्ट क्रिकेटमा फर्किन मेरो कडा मिहिनेत जारी रहनेछ।’’

२०१९ को विश्वकपमा ह्यामस्ट्रिङ चोटका कारण चार इनिङ गुमाए पनि २९ वर्षे रोयले ६३.२८ को औसतमा ४४३ रन बनाएका थिए। त्यही लयका कारण उनलाई आयरल्यान्ड र अस्ट्रेलियाविरुद्धको टेष्ट शृंखलामा टीममा समावेश गरिएको थियो। शुरूमा उनलाई ओपनिङमा ल्याइएको थियो भने पछि उनी चौथो नम्बरमा ब्याटिङ गर्न आएका थिए।

इङ्ल्यान्डले न्युजिल्यान्ड र दक्षिण अफ्रिका भ्रमण गर्दा डोम सिबले र ज्याक क्राउले रोयको सम्भावित जोडीको रूपमा देखिएका थिए। रोयले टेष्ट डेब्यू खेलमा ७२ रन बनाएका थिए। जुन उनले टेष्ट क्रिकेटमा बनाएको सबभन्दा ठूलो स्कोर हो। उनी अब पुनः टीममा फर्कंदा मध्यक्रममा आउने सम्भावना बढी छ।

‘‘ओपनिङमा अहिले राम्रो भइरहेको छ’’, ट्वान्टी-२० क्रिकेटमा पनि ओपनिङमा ब्याटिङ गर्ने रोयले भने, ‘‘सेतो बलमा राम्रो गरे पनि टेष्टमा त्यसलाई निरन्तरता दिन सकेको थिइनँ, जसका कारण म निराश छु। भित्रबाट नै मलाई टेष्ट क्रिकेटमा पनि राम्रो गर्न सक्छु भन्ने विश्वास छ।’’

रोयले थपे, ‘‘तर त्यसका लागि मैले संघर्ष गर्नुपर्छ। टीममा फर्किएर मैले आफूलाई प्रमाणित गर्नुपर्छ। जुन म गर्न सक्छु। पक्कै पनि त्यसका लागि म आतुर छु।’’

कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले १ जुलाईसम्म क्रिकेट प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो। जसका कारण इङल्यान्डले वेष्ट इन्डिजविरुद्ध घरेलु मैदानमा खेल्ने टेष्ट शृंखला स्थगित भएको थियो। त्यस्तै अस्ट्रेलिया, पाकिस्तान र आयरल्यान्ड भ्रमण पनि स्थगित भएको छ।

शनिबार भने इङ्ल्यान्ड क्रिकेट बाेर्डले वेष्ट इन्डिजविरुद्धको शृंखला खेल्नेमा सकारात्मक छलफल भएको जनाएको छ। कप्तान, प्रशिक्षक, बोर्ड अधिकारी र मेडिकल अधिकारीहरू सम्मिलित दुई बोर्डबीचको छलफलमा अर्को महीनाबाट अन्तर्राष्ट्रिय क्रिकेट हुन सक्नेमा सकरात्मक भएको जनाइएको छ।

जुलाईमा क्रिकेट शुरू भयो भने इङ्ल्यान्डको पहिलो खेल वेष्ट इन्डिजविरुद्ध हुनेछ। त्यसो भयो भने दुई देशबीच ८ जुलाईमा खेल हुनेछ। त्यसका लागि वेष्ट इन्डिजले मध्य जुनमा इङ्ल्यान्ड भ्रमणमा निस्कनेछ।

प्रतिक्रिया दिनुहोस्