नेपालमा आफ्नो लोगोको अनधिकृत प्रयोग बढेपछि डब्ल्यूएचओकाे ध्यानाकर्षण
<p>काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले संगठनको लोगो वा प्रतीकको प्रयोग संगठनद्वारा अनुमोदन गरिएका सामग्रीहरूमा मात्र प्रयोग गर्न सकिने कुरा प्रष्ट पारेको छ।</p>
<p>नेपालमा विभिन्न प्रयोजनहरूमा संगठनको लोगो अनधिकृतरूपमा प्रयोग भएको बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संगठनले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ- “यो लोगो प्रयोग भएको कुनै पनि सामग्री भनेको उक्त सामग्री डब्ल्यूएचओद्वारा अनुमोदन गरिएको हो भन्ने संकेत गर्दछ। डब्ल्यूएचओको लोगो वा प्रतीक डब्ल्यूएचओको लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिन्छ।”</p>
<p>लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिकरूपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरू र संस्थाहरूका लागि मात्र सीमित गरिएको पनि संगठनले स्पष्ट गरेको छ।</p>
<p>संगठनको लोगो प्रयोग गर्न अनुमति प्राप्त गर्ने प्रक्रियाका लागि अवलम्बन गर्नुपर्ने निर्देशिका संगठनको वेबसाइटमा उपलब्ध रहेको जानकारी दिँदै संगठनले सरोकारवालालाई सोही बमोजिम गर्न/गराउन पनि अनुरोध गरेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
