एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको वरियता यथावत

काठमाडौं। अन्तर्राष्‍ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार निकालेको वरियताअनुसार नेपाल एकदिवसीय अन्तर्राष्‍ट्रियमा १६औं स्थानमा छ भने ट्वान्टी-२० अन्तर्राष्‍ट्रिय वरियताको १५औं स्थानमा छ। यसको मतलव नेपाली क्रिकेट टिमको वरियतामा कुनै परिवर्तन भएको छैन।

ट्वान्टी-२० अन्तर्राष्‍ट्रियमा टेष्‍ट राष्‍ट्रबाहेक नेपालभन्दा माथि युनाइटेड अरब इमिरेट्स (यूएई) र स्कटल्यान्ड मात्र छन्। यूएई १३औं स्थानमा छ भने स्कटल्यान्ड १४औं स्थानमा छ। पपुवा न्युगिनी १६औं, नेदरल्यान्ड १७औं तथा ओमान १८औं स्थानमा छ।

ट्वान्टी-२० क्रिकेटमा अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ। इङ्ल्यान्ड दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ। पाकिस्तान चौथो स्थानमा छ।

एकदिवसीय अन्तर्राष्‍ट्रिय क्रिकेटमा नेपालभन्दा माथि नेदरल्यान्ड्स (१२), ओमान (१३)र स्कटल्यान्ड्स (१५) छन्। नेपालभन्दा तल युएई, नामिबिया, अमेरिका र पपुवा न्यगिनी छन्। एकदिवसीय अन्तर्राष्‍ट्रियमा इङ्ल्यान्ड शीर्ष स्थानमा छ। भारत दोस्रो तथा न्युजिल्यान्ड तेस्रो स्थानमा छ। टेष्‍ट र ट्वान्टी-२० क्रिकेटको शीर्ष स्थानमा रहेको अस्ट्रेलिया पाँचौं स्थानमा छ।

आज निकालिएको वरियतामा २०१६-१७ अघिको नतिजालाई समावेश नगरिएको आर्इसीसीले जनाएको छ। टेष्‍ट च्याम्पियनसिपको वरियतामा भारत शीर्ष स्थानबाट खस्किए पनि विश्व टेष्‍ट च्याम्पियनसिपको अंकतालिकामा शीर्ष स्थानमै छ।

प्रतिक्रिया दिनुहोस्