रोल्पामा भेटिएको बम डिस्पोज गर्न दाङबाट सेनाको टोली

धनगढी। रोल्पाको त्रिवेणी गाउँपालिका-७ मा भेटिएको बम डिस्पोजल गर्न दाङबाट नेपाली सेनाको टोली आज विहान त्यसतर्फ गएको छ।

रोल्पामा डिस्पोजल सामग्री नभएपछि दाङको रिपुमर्दन गणबाट सेनाको टोली मगाइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्‍मण ढकालले बताए।

उनका अनुसार हिजो साँझ दहबनाट सेनाको टोली बम रहेको स्थानमा पुगे पनि उपकरण नभएकाले डिस्पोज गराउन सकेन। सोही कारण दाङबाट टोली झिकाइएको प्रजिअ ढकालले जानकारी दिए।

आफू पनि बम रहेको स्थानतर्फ जान लागेको उनले बताए। दाङस्थित रिपुमर्दन गणबाट सेनानी निमेष पन्थीको कमान्डमा बम डिस्पोजल टोली रोल्पाका लागि गइरहेको छ।

हिजो साँझ बेवारिसे बम विस्फोट हुँदा बाख्रा गोठालो गएका चार बालबालिकाको मृत्यु भएको थियो। अहिले पनि घटनास्थलमा विस्फोटक पदार्थ रहेकाले डिस्पोज नगरी शव उठाउन सकिएको छैन।

घटनामा त्रिवेणी-७ का ११ वर्षीय विमला केसी, उनका पाँच वर्षीय भाइ विजय केसी, १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी-४ का १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको छ।

घटनास्थल २०६२ सालमा तत्कालीन माओवादी र शाही नेपाली सेनाबीच भिडन्तस्थल रहेको खुलेको छ। त्यसलाई ‘दुम्ला भिडन्त’ भनेर चिन्‍ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्