रोल्पा विष्फोटमा मृत्यु हुने ५ देखि १४ वर्षसम्मका बालबालिका
काठमाडौ। रोल्पाको त्रिवेणी गाउँपालिका-७ मा बम विष्फोटमा परेर मृत्यु भएका चार बालबालिकाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेमा स्थानीय १४ वर्षीय लोकीराम डागी, ११ वर्षीया बिमला खत्री, ५ वर्षीय विजय खत्री र १३ गौरव नेपाली रहेका छन्।

“बम कसरी विष्फोट भयो भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन”, डीएसपी गुरुङले देखापढीसँग भने, “मलगायतको टोली अहिले घटनास्थलमा नै छौं। हामीले घटनाको अनुसन्धान गरिरहेका छौं।”

प्रहरीका अनुसार आज बेलुका ६ बजेतिर बाख्रा चराउन जंगल गएका बालबालिकाले खेलौनाजस्तो वस्तु देखेपछि चलाएका थिए। लगत्तै विष्फोट भएको बताइएको छ।

प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले प्रहरीको टोली अहिले घटनास्थलमा रहेको र आवश्यक अनुसन्धान भइरहेको बताए।

उनले बम पुरानो हो वा अहिलेको के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्