चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुला
काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो।

केशव भट्टराईको २९ मंसीर २०७६ मा निधन भएपछि अध्यक्ष पद खाली छ।

इच्छुक व्यक्तिले आजदेखि १५ दिनभित्र आवेदन दिनुपर्नेछ। बोर्ड अध्यक्ष हुनका लागि ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको नागरिक हुनुपर्नेछ।

त्यस्तै कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरेको र चलचित्र क्षेत्रमा १० वर्ष काम गरेको व्यक्तिले आवेदन दिन सक्ने मन्त्रालयले जनाएकाे छ। प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेर चलचित्र क्षेत्रमा २० वर्ष बिताएका व्यक्तिले पनि आवेदन दिन पाउनेछन्।

लामो समयदेखि बोर्डको अध्यक्ष पद खाली हुँदा चलचित्रसम्बन्धी विभिन्न गतिविधि ठप्प छन्। आवेदन खुला भएसँगै अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, नायक भूवन केसीलगायतको नाम चर्चामा आउन थालेको छ।

यसअघि पनि उनीहरूसँगै राजेश हमाल, केपी पाठक, नवल नेपाललगायतलाई पनि दाबेदार मानिएका थिए। हमालले आफू राजनीतिक हस्तक्षेपबाट मुक्त भएर काम गर्न दिएको खण्डमा मात्र अध्यक्ष बन्ने बताउँदै आएका छन्।

कोभिड-१९ का कारण थला परेको नेपाली चलचित्र क्षेत्रलाई बलियो पार्ने चुनौती अबकाे अध्यक्षलाई हुनेछ।

प्रतिक्रिया दिनुहोस्