बेनीकाे सिनेमा घरमा बच्चासहितकाे चितुवा भेटिएपछि...

म्याग्दी। पछिल्ला केही दिनयता चितुवाले आतंक मच्चाएको छ। सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा दैनिकजसो चितुवाले कुखुरा, कुकुर, बाख्रा मार्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।

केही दिनअघि बेनीको क्याम्पसचोकस्थित रूचि सिनेमा घरमा दुईवटा बच्चासहित पोथी चितुवा भेटिएको थियो।

१२ वैशाखमा बेनी बजार नजिकै रहेको खबरास्थित प्रेम कुँवरको कुखुराको खोरभित्र बयस्क चितुवा फेला परेको थियो।

सिनेमा घरमा आएको चितुवा नियन्त्रणमा लिने प्रयास गर्दागर्दै आफैं भागेर जङ्गलतर्फ गएको बताइएको छ।

खबरामा भेटिएको चितुवा प्रहरी र वन प्राविधिकले नियन्त्रणमा लिएर जङ्गलमा लगेर छाडेका थिए। करीब पाँच किलो तौल भएको सो चितुवाले कुँवरको १२ वटा कुखुरा मारेको थियो।

यसैगरी तीन दिनअघि बेनी बजारकै अस्पताल चोकमा चितुवा देखिएको स्थानीयवासी डकमाया पाइजाले जानकारी दिइन्। उनका अनुसार चितुवाले कुकुरलाई मारेर जङ्गलतर्फ भागेको थियो।

वस्तीमा आउने चितुवाले मानिसलाई आक्रमण गर्ने डरले स्थानीय त्रसित भएका छन्। ‘लकडाउन’ लम्बिँदै जाँदा वातावरण शान्त भएपछि वन्यजन्तु आहाराको खोजीमा वस्तीमै आउने गरेकाे वन प्राविधिकहरू बताउँछन्।

सवारीसाधन र मानिसको चहलपहल घटेपछि वातावरण शान्त भएको र वन्यजन्तु आहाराको खोजीमा वस्तीमा आएकाे डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए। “वन्यजन्तु वस्तीमा आउनुको मुख्य कारण आहाराको खोजी नै हो”, उनले भने, “लकडाउनपछि वातावरण शान्त भएकाले बजारभित्र आएका हुन सक्छन्।”

चितुवाको मुख्य आहारा रतुवा र घोरल हुन्। पहाडी क्षेत्रको जङ्गलमा झाडी बढेपछि घोरल र रतुवा मृग फराकिलो ठाउँ खोज्दै वस्ती नजिकका वनमा चरनका लागि झरेका छन्। घोरल र रतुवा मृग खोज्दै चितुवा पनि वस्ती नजिकको वनमा आएको हो।

गत हप्ता रघुगङ्गा गाउँपालिका-२, भगवतीमा खरबारीमा रतुवा मृगको पाठो भेटिएको थियो। सो पाठोलाई वन प्राविधिक, प्रहरी र जनप्रतिनिधिको रोहबरमा जंगलमा लगेर छाडिएको फरेष्टर राम्जी शर्माले बताए।

वन प्राविधिकका अनुसार साँझको समयमा बत्ती नबलेको, आँगनमा बालबच्चा खेलेको, बाख्राको खोर भएको जङ्गल छेउको घरमा चितुवाले आक्रमण गर्ने गरेको पाइएको छ। जङ्गल छेउमा घर भएकाहरूलाई सतर्कता अपनाउन वन डिभिजन कार्यालयले आग्रह गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्