पश्चिम नेपालमा वर्षा: सतर्कता अपनाउन आग्रह
सुर्खेत। जल तथा मौसम कार्यालय कोहलपुर (हाल सुर्खेत) ले भेरी र कर्णाली नदी क्षेत्र आसपासका वस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आजदेखि पर्सि (१७ वैशाख) सम्म मौसमी प्रणाली सक्रिय रही मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कार्यालय प्रमुख विनोद पराजुलीले तीनै दिन हावाहुरी, चट्याङ र असिना वर्षासमेतको सम्भावना रहेको बताए। उनका अनुसार कार्यालयले चारवटा जिल्ला र आसपासका केही स-साना खोलानालाहरूमा आकस्मिक बहाव पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन बबई, कर्णाली, महाकालीजस्ता ठूला नदी आसपासका नागरिकमा सूचना जारी गरेको छ।
हाल कर्णालीका सुर्खेत, दैलेखसहित आसपासका जिल्लाहरूमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ।
त्यस्तै, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि आज, भोलि र पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्