स्याटेलाइट तस्वीरमा देखियो किमको रेल, स्वास्थ्य अवस्था अज्ञात

काठमाडौं। उत्तर कोरियाका नेता किम जोंग उनको मानिने विशेष रेल एउटा रिसोर्ट भएको शहरमा स्याटेलाइट तस्वीरमा देखिएको वासिंगटनस्थित ‘नर्थ कोरिया मनिटरिंग प्रोजेक्ट’ले जनाएको छ। नेता किमको निधन भएको अपुष्ट खबर फैलिरहँदा यस्तो रिपोर्ट सार्वजनिक भएको हो।

१३ वैशाखमा प्रकाशित प्रोजेक्टको रिपोर्ट अनुसार उक्त रेल वोन्सान शहरको ‘लिडरसीप स्टेशन’मा ९ देखि ११ वैशाखसम्म देखिएको थियो।

उक्त रिपोर्टमा किमको रेल भएको अनुमान गरे पनि रोयटर्सले उनी वोन्सानमै छन् वा छैनन् भन्ने रोयटर्सले पुष्टि गर्न सकेको छैन।

३ वैशाखमा आफ्ना हजुरबुवा एवं उत्तर कोरियाका पिता किम इल सुङको जन्मजयन्तीमा सहभागी नभएपछि किमको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी हुन थालेका हुन्।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले किमको ३० चैत २०७६ मा मुुटुको शल्यक्रिया गरिएको र शल्यक्रियापछि उनी कोमामा गएको जनाइरहेका छन्। कतिपयले उनको मृत्यु भएको समेत अड्कल गरेका छन्। तर उनको मृत्युको पुष्टि भएको छैन।

यसैबीच चीनले किम जोङ–उनको स्वास्थ्य जाँचका लागी विज्ञ डाक्टरहरू पठाएको रोयटर्सले जनाएको छ। ११ वैशाखमा उक्त टोली उत्तर कोरियाका लागि बेइजिङबाट प्रस्थान गरेको जनाइएको छ। – द गार्जियनमा प्रकाशित रोयटर्सका समाचारबाट

प्रतिक्रिया दिनुहोस्