स्यानिटाइजर निःशुल्क वितरण गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय
सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) आफैंले उत्पादन गरेका स्यानिटाइजर निःशुल्क वितरण गर्न थालेको छ।

कर्णालीमा स्यानिटाइजरको अभाव रहेकाले विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले उत्पादन गरी वितरण शुरू गरेको हो।

उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश अस्पताल, सुरक्षा निकायका साथै सर्वसाधारणलाई विश्वविद्यालयले उत्पादन गरेका ९०० थान स्यानिटाइजर हस्तान्तरण गरे। विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको प्रयोगशालाबाट स्यानिटाइजर उत्पादन शुरू भएको छ।

विश्वविद्यालयका उपकुलपति सिंहले कोभिड-१९ को जोखिमबाट सुरक्षित रहन स्यानिटाइजरको प्रयोग आवश्यक भएको बताए। बढ्दो मागसँगै बजारमा अभाव सिर्जना भएकाले विश्वविद्यालयले उत्पादन शुरू गरेको उनको भनाइ छ।

“स्यानिटाइजर उत्पादनले विश्वविद्यालयलाई समुदाय र इण्डष्ट्री (उद्योग) सँग जोडेर उच्च शिक्षालाई उत्पादन र आर्थिक समृद्धितर्फ अगाडि बढ्न हौसला मिलेको छ”, उनले भने, “सैद्धान्तिक र व्यवहारिक ज्ञानको सदुपयोग गर्न सकेपछि मात्र उच्च शिक्षाको सान्दर्भिकता रहन्छ।”

त्यस्तै विश्वविद्यालयले कर्णाली प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण र उपचार कार्यमा आवश्यक परेमा ८०५ स्वयंसेवक परिचालन गर्न सकिने जनाएको छ। उपकुलपति सिंहले स्वयंसेवकको विवरण मुख्यमन्त्रीसमक्ष पेश गरिसकेका छन्।

रजिष्ट्रार यमबहादुर कार्कीले लकडाउनको समय सदुपयोग गर्दै विश्वविद्यालयको प्राज्ञिक जनशक्ति प्रयोगात्मक, अनुसन्धानमूलक गतिविधिमा सक्रिय रहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्