भीटीएम किट आएपछि सप्तरीका थप तीन स्थानमा स्वाब संकलन हुँदै

सप्तरी। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीटीएमसहित प्राविधिक स्वास्थ्यकर्मी पठाएपछि आज सप्तरीको जोखिमयुक्त तीन स्थानमा स्वाब संकलन हुने भएको छ।

भीटीएम आएपछि संक्रमित फेला पर्न सक्ने सम्भावित बोदे बर्साइन, सुरुङ्गा र सप्तकोशी नगरपालिकामा पीसीआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन हुने भएको हो।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३२० भीटीएमसहित प्राविधिक स्वास्थ्यकर्मी सप्तरी पठाएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

महाशाखाका फणिन्द्र ज्ञवालीले बोदे बर्साइन-५ जाँजर, सुरुङ्गा नगरपालिका-११ अरहा भजक्का र सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा केन्द्र स्थापना गरी स्वाब सङ्कलन गरिने बताए।

स्वाब संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने जनाइएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केमा फेला परेका संक्रमितहरू सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझिया, वडा नं १२ चर्खिया र सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित मस्जिदमा बसेर गएको पत्ता लागेपछि सो क्षेत्रमा तीव्ररूपमा आरडीटी गरिए पनि स्वाब परीक्षण हुन सकेको थिएन। रासस

प्रतिक्रिया दिनुहोस्