रोजामा कोरोना भाइरस समाप्तिको प्रार्थना

नेपालगञ्‍ज । आजदेखि शुरु भएको रोजा पर्वमा स्थानीय मुसलमान समुदायले विश्‍वभरबाट कोरोना भाइरसको संक्रमण समाप्तिको प्रार्थना गरेका छन्।

रोजाका बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेकामा यस वर्ष कोभिड-१९ को संक्रमण रोकथामका लागि जारी लकडाउन पालना गर्दै घरमै बसेर महामारी समाप्तिका लागि प्रार्थना गरिएको केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष तथा धर्मगुरु मौलाना अब्दुलजब्बार मञ्‍जरीले बताए ।

‘कोरोना भाइरस महामारीले लकडाउनका कारण देशमा बन्द छ, नागरिक आ-आफनो घर बसिरहेका छन् । यस्तो अवस्थामा रमजानको रोजा पनि घरमै प्रार्थना गरेर शुरु भएको छ,’ उनले भने, ‘यस वर्ष रमजानको रोजामा कोरोना भाइरस अन्त्यको कामना गरिएको छ ।’

उनका अनुसार लकडाउनका कारण रमजानको रोजा खोल्न आवश्‍यक खजूर बजारमा नपाइने भएकाले स्थानीयस्तरमै पाइने फल वा घरमै बनाइएको पकवान प्रयोग गर्न आग्रह गरिएको छ ।

एक महीनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बी उपवास बस्‍ने गर्छन्, जसलाई ‘रोजा’ भनिन्छ । अंग्रेजी पात्रोअनुसार रमजानको रोजा आजदेखि शुरु भएको छ ।

इस्लामी पात्रो चन्द्रमाको गतिसँग सम्बन्धित तिथिमितिअनुसार तय हुन्छ । यसैले शाअबान महीना समाप्तिसँगै रमजान महीना शुरु हुँदा चन्द्रमा हेरेर रोजा शुरु गरिन्छ भने रमजान महीना समाप्तिको जानकारी पनि चन्द्रमा हेरेर नै हुन्छ ।

‘मानव जीवनलाई बचाउनका लागि सरकारले लकडाउनको समयलाई बढाएको छ तर दैनिक मजदूरी गरी परिवार पाल्नेलाई समस्या हुँदै गएको छ । यस्तो परिस्थितिमा समाजका सम्पन्‍न व्यक्तिले गरीबहरूलाई सहयोग गर्न अगाडि आउन जरुरी छ,’ अधिकारकर्मी आलम खान भन्छन्, ‘रमजानमा रोजा इफ्तार पार्टीमा खर्च हुने पैसालाई बचाएर विपन्‍न व्यक्तिलाई सहयोग गर्न जरुरी भएको छ ।’

नेपालगञ्‍जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने गरी व्यवस्था मिलाउन सार्वजनिक आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्