ट्रम्पले गरे किमको स्वास्थ्य लाभको कामना

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

ट्रम्पले नेता किम गम्भीर बिरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका हुन्।

उनी सिकिस्त बिरामी भएको भन्ने विवरण प्राप्त भएको र आफूले केबल शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्न सक्ने ट्रम्पले बताएका हुन्।

एक कार्यक्रममा ट्रम्पले किमसँग आफ्नो निकै राम्रो सम्बन्ध बन्दै गएको पनि स्मरण गरेका थिए।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरूले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएपछि ट्रम्पले यस्ताे बनाएका हुन्।

नेता किम १५ अप्रिलका दिन आफ्ना हजुरबुबाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित थिए।

उनी त्योभन्दा चार दिन अगाडि एउटा सरकारी बैठकमा भने देखिएकाे गुप्तचर निकायहरूको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।

तर, उत्तर कोरियाली सरकारी अधिकारीहरूले भने किम बिरामी भएको पुष्टि गरेका छैनन्। उनीहरूले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन्।

योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उनीहरूले कुनै फरक नरहेको बताएका छन्।

“उत्तर कोरियामा पहिलाभन्दा अहिले कुनै फरक छैन, बाहिर चलाइएको हल्ला सत्य होइन”, एक सरकारी उच्च अधिकारीले भने।

अध्यक्षका प्रवक्ता काङ मिन सेओकले पनि उत्तर कोरियामा कुनै नयाँ कुरा नभएको दाबी गरे।

उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकाले पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले बेला-बेलामा सूचनप्रतिको अन्यौलता सृजना हुने गर्दछ।

- रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्