बिरालाेकाे बच्चा भनेर चरिबाघ पालेपछि...

स्याङ्जा। वालिङमा लोपोन्मुख चरीबाघको बच्चा भेटिएको छ।

डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले चरीबाघको बच्चा कार्यालयको संरक्षणमा राखिएको जानकारी दिए।

६ दिन पहिले स्थानीय बालबालिकाले वालिङ-१ स्थित जंगलमा चरिबाघकाे बच्चा फेला पारेका थिए। उनीहरूले त्यसलाई बिरोलाको बच्चा भनेर घरमा ल्याएर पालेका थिए।

केही दिनपछि त्यसले बिरालो नभई बाघको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीयवासीले गण्डकी प्रदेश सभा सदस्य एवं विधायन सभा समितिका सभापति मोहनप्रसाद रेग्मीलाई सम्पर्क गरेर वन कार्यालयमा बुझाइदिन आग्रह गरेका थिए।

प्रमुख काफ्लेले भने, “अहिले साह्रै सानो छ, सानोमै जंगलमा छाड्दा अन्य जनावरले खाने डर भएकोले अलि ठूलो भएपछि सम्बन्धित ठाउँमा लगेर छाड्छौँ।”

लोपोन्मुख संरक्षित वन्यजन्तुका रूपमा रहेको चरीबाघको बच्चालाई वालिङ नगरपालिका-१ मा बालबालिकाले खेल्ने क्रममा फेला पारेका थिए।

डिभिजन वन कार्यालयले कास्की डिभिजन वन कार्यालयसँग समन्वय गरेर कास्की, पचभैवामा रहेको जनावर उद्धार केन्द्रमा छाड्ने तयारी भइरहेको जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्