धादिङको थाक्रेमा चट्याङबाट दुईको मृत्यु सातजना घाइते
धादिङ। दक्षिणी धादिङको थाक्रे गाउँपालिका-३ बालुवाखर्कमा गएराति परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ छन्।

घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौंतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रुपक खड्काले बताए।

गम्भीर घाइते अर्का एकजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएको थियो।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको वडाअध्यक्ष अमित घलेले बताए।

घाइते भएका चार महिला र दुई पुरुषको भुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

घटनास्थल पृथ्वीराजमार्गको महादेवबेँसीबाट चार घण्टाको दूरीमा दक्षिणतर्फ पर्छ। रासस

प्रतिक्रिया दिनुहोस्