डीआईजीमा बढुवा भएका १० जनालाई आज दर्ज्यानी चिन्ह लगाइने, एसएसपीको पनि बढुवा निकाल्ने तयारी

काठमाडौं। नेपाल प्रहरीका १० अधिकारीले आज डीआईजीको दर्ज्यानी चिन्ह पाउने भएका छन्।

दिउँसो एक बजे प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने कार्यक्रममा एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस भएका उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिने तयारी छ।

प्रहरी प्रधान कार्यालयले सहभागिताको लागि बढुवा सिफारिस भएकाहरूलाई जानकारी दिइसकेको छ।

त्यस्तै उपत्यका क्षेत्रमा एसएसपी तहका अन्य प्रहरी अधिकृतलाई पनि कार्यक्रममा उपस्थित हुन भनिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार नवनियुक्त डीआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेपछि आजै उनीहरूको पदस्थापन गरिनेछ।

“पदस्थापनको लगभग टुंगो लागिसकेको छ”, स्रोतले भन्यो, “दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा पदस्थापनको समेत जिम्मेवारी दिइन्छ।”

अहिले रिक्त रहेका ६ वटै प्रदेशमा डीआईजीको पदस्थापन हुनेछ भने अहिले कार्यरत रहेका २ नम्बर प्रदेशका डीआईजी प्रद्युम्न कार्की, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी निरज शाहीको पनि नयाँ ठाउँमा पदस्थापन हुनेछ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेल र प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रबन्ध शाखामा रहेका डीआईजी सूर्य उपाध्यायको भने अहिलेकै ठाउँमा पदस्थापन गरिने स्रोतले जानकारी दिएको छ।

२८ चैत बेलुका गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।

दुई ब्याचबाट १० जनाको सिफारिस गरिएको हो। पहिलो नम्बरमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त र ईश्वरबाबु कार्की सिफारिस भएका थिए।

त्यस्तै, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुण बिसीलाई डीआईजी बढुवामा सिफारिस गरिएको थियो।

प्रहरीमा रहेको डीआईजीको २६ दरबन्दीमा १२ दरबन्दी कटौती गरेपछि रिक्त रहेको १० पदमा बढुवा सिफारिस गरेको हो।

प्रहरी स्रोतका अनुसार आजै साँझ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को रिक्त हुने १९ स्थानमा पनि बढुवा सिफारिस गरिनेछ।

एसएसपी बढुवा सिफारिस गर्न ६ वैशाखमा प्रहरी प्रधान कार्यालयमा बसेको बैठकले बढुवा हुनेहरुको करीब अन्तिम टुंगो लगाइसकेको छ।

आज थप छलफलपछि साँझसम्म टुंगो लागेर बढुवा निकाल्ने तयारी भइरहेको छ। एसपीहरू वीरेन्द्र बस्याल, राजेश बास्तोला, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, विष्णुकुमार केसी, कुवेर कठायत, केदार ढकाल, रवीन्द्र केसी, सुदीप गिरी, कृष्णकुमार महत, लालमणि आचार्य र अर्जुन चन्द ठकुरी, हृदय थापा, सुरेन्द्र मैनाली, अशोक सिंह, चक्रबहादुर सिंह, राजकुमार वैदवार र मुकेश सिंह एसएसपीमा बढुवा हुने प्रवल सम्भावना रहेको गृह स्रोत बताउँछ।

एसपीको एसएसपीमा बढुवासँगै रिक्त हुने पदमा पनि बढुवा निकाल्ने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्