प्रशिक्षक सेटिनले भने- ‘क्लबको विवादले मेस्सीको भविष्यमा कुनै असर पर्दैन’

काठमाडौं। प्रशिक्षक क्वेक सेटिनले बार्सिलोनाको बोर्डमा भएको विवादले मेस्सीको भविष्यमा कुनै फरक नपर्ने बताएका छन्।

ला लिगा साविक विजेताको मुख्य प्रशिक्षक सेटिनले क्याम्प नोउमा पर्दा पछाडि जति किचलो भए पनि बार्सिलोनामा मेस्सीको भविष्यमा कुनै असर नपर्ने बताएका छन्।

कोभिड-१९ महामारीका कारण ला लिगा स्थगित भएको छ। तर, बार्सिलोनाको आन्तरिक किचलोलाई भने यसले रोकेको छैन। गत साता झन बार्सिलोनाको विवाद सतहमा आएको थियो।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बाटोमेउलाई दबाब दिनका लागि बोर्डका ६ सदस्यले राजीनामा दिएका थिए। लगत्तै क्लबका अध्यक्षले उपाध्यक्ष इमिली रोउसाउडलाई कारबाही गर्ने जनाएका छन्। उनले बार्सिलोनामा आर्थिक अनियमितता भएको भन्ने आरोपको कडा प्रतिवाद गरेका छन्।

बाेर्ड सदस्यबाट राजीनामा दिनेमा क्लबको चार उपाध्यक्षमध्येका दुई इमिली रोउसाउड र इनरिके टोमबसका साथै चार निर्देशक सिल्भो इलियास, जोसेप पोन्ट, जोर्डी काल्सामिग्लिया र मारिया टेइजिडोर छन्।

अध्यक्ष पदका सम्भावित उम्मेद्वार भिक्टोर फोन्टले पनि बार्टोमेउ माथि निशाना गर्दै क्लब ‘नैतिक पतन’ तथा ‘आर्थिक संकट’मा जान सक्ने बताएका थिए।

इर्नेष्टो भाल्भार्डेलाई बर्खास्त गरेपछि खेलकुद निर्देशक इरिक एबिडलले टीमको आलोचना गरेका थिए। त्यसको मेस्सीले प्रतिवाद गरेपछि उनी पनि विवादमा मुछिएका थिए। कोभिड-१९ महामारीमा खेलाडीको तलब कटौती गर्ने क्रममा पनि बोर्डले कुनै समन्वय नगरेकोमा पनि मेस्सीले निराशा व्यक्त गरेका थिए।

मेस्सी म्यानचेस्टर सिटी र इन्टर मिलानसँग जाेडिएको चर्चा बाहिरिएको अवस्थामा मुख्य प्रशिक्षक सेटिनले उनी क्लबमै रहने र कप्तान कै भूमिकामा रहने बताएका हुन्।

‘‘ठूलो क्लबमा यस्ता कुरा सामान्य हो। यस्तो विपतको घडीमा विवादका कुरा बाहिर आउनु दुखद् हो’’, टिभी ३ सँगको कुरामा सेटिनले भने, ‘‘मलाई शान्त वातावरणमा काम गर्न राम्रो लाग्छ। तर अवस्था यस्तो छ। मलाई लाग्दैन की यस्तो विवादले मेस्सीजस्तो खेलाडीको भविष्यमा कुनै फरक पर्छ। म विश्वस्त छु मेस्सीले क्याम्प नोउमै आफ्नो करियर अन्त्य गर्नेछन्।’’

यस सिजन ला लिगा अन्त्य हुनुभन्दा अगाडि सेटिनको बार्सिलोना चीर प्रतिद्वन्द्वी रियाल मड्रिडभन्दा दुई अंकले माथि छ। लिगमा अझै ९ खेल बाँकी छ। यत्तिकै सिजन अन्त्य भयो भने शीर्ष क्लबको हैसियतमा बार्सिलोना विजेता बन्ने सम्भावना हुन्छ।

‘‘सबै खेल खेलेरै लिग जित्न चाहन्छु’’, बार्सिलोनाका प्रशिक्षक सेटिनले भने, ‘‘लिग सकिएन भने के हुन्छ म भन्न सक्दिनँ। हामीले उपाधि पायौं भने पनि मलाई त्यसले पूर्ण सन्तुष्टि दिने छैन।’’

प्रतिक्रिया दिनुहोस्